ट्रेन्डिङ

मतपेटिका एउटा बक्सा नै गायब भएपछि पर्सा निर्वाचन क्षेत्र ३ को मतगणना स्थगित

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा मतपेटिका सम्बन्धी विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको छ ।

पटेर्वासुगौली गाउँपालिका–४ को एउटा मतपेटिका गायब भएको आशंकापछि शनिबार साँझदेखि मतगणना रोकिएको हो । क्षेत्र नम्बर–३ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ करिब ५ बजेदेखि मतगणना रोकिएको छ ।

मतगणनाका क्रममा खसेको मतसंख्याभन्दा कम मतपत्र फेला परेपछि विभिन्न दलका प्रतिनिधिहरूले विरोध जनाउँदै मतगणना बहिष्कार गरेका थिए । त्यसपछि स्थिति तनावपूर्ण बनेको हो ।

तर क्षेत्र नम्बर–३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले भने मतपेटिका हराएको नभई ‘मिसप्लेस’ भएको दाबी गरेका छन् । उनका अनुसार उक्त वडाबाट चार वटा मतपेटिका निकालेर गणना गर्दा मुचुल्कामा उल्लेख भएको भन्दा कम मतपत्र भेटिएको थियो ।

“मुचुल्कामा उल्लेख भए अनुसार मतपत्र कम देखिएपछि हामीले उक्त बक्सा खोज्ने काम गर्‍यौं । खोज्दै जाँदा अर्को स्थानमा राखिएको मतपेटिका फेला पर्यो र फेरि ल्याइएको छ,” श्रेष्ठले भने ।

यद्यपि मतपेटिका भेटिएपछि पनि दलहरूले आपत्ति जनाएपछि हाल मतगणना रोकिएको उनले बताए ।

पटेर्वासुगौली–४ मा करिब ३ हजार ३ सय मत खसेको बताइएको छ । तर गणना गर्दा करिब २ हजार २ सय मत मात्रै फेला परेपछि विवाद सुरु भएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै