काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिजय उत्सव नमनाउन आग्रह गरेका छन् ।
पार्टीका उपसभापति डीपी अर्यालले भिडीओ सन्देश सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।
प्रतिनिधि सभाको निर्वाचनमा जितेका आफ्ना उम्मेदवारलाइ कुनै पनि प्रकारको विजय उत्सव नमनाउन अनुरोध गर्दै उनले भने, ‘अबको यो समय खुसियाली मनाउनेभन्दा काम गर्ने बेला हो । अब हामी सबैले हाम्रा मतदाताहरुका लागि काम गर्नुपर्छ । मतदाताहरुका लागि काम गरिसकेपछि सबै जनाको घरमा घरदैलो, अबिरजात्रा गर्ने हो, तर अहिले हामीले जनताका लागि काम गर्ने म्यान्डेन्ट पाएका हौं ।’
उनले विजयी भएका वा हुने क्रममा रहेका उम्मेदवारलाई बाजागाजा, अबिर जात्रा, कुनै प्रकारका र्याली र फूलमाला नगर्न आग्रह गरेका हुन् ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेताहरूको समेत सहमतिमा यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
अर्यालले अहिलेका लागि मतगणनास्थलबाट मात्र मतदाताहरुलाइ धन्यवाद दिएर कार्यक्षेत्रमा जान निर्वाचित उम्मेदवारसमक्ष अपिल गरेका छन् ।