ट्रेन्डिङ

आज मध्यरातिदेखि ‘मौन अवधि’ सुरु, के-के गर्न नपाइने ?

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले सञ्चालन गर्दै आएको प्रचार–प्रसार अभियान आज राति १२ बजेदेखि औपचारिक रूपमा समाप्त हुँदैछ।

निर्वाचन आयोग ले फागुन ४ गतेदेखि आज मध्यरातिसम्म प्रचारको समय तोकेको थियो।

आज रातिदेखि मतदान सम्पन्न नभएसम्म ४८ घण्टे ‘मौन अवधि’ लागू हुनेछ।

यस अवधिमा कुनै पनि प्रकारको सभा, जुलुस, भाषण, घरदैलो, समीक्षा बैठक, मत माग्ने गतिविधि वा निर्वाचनलाई प्रभाव पार्ने किसिमका प्रचारकार्य गर्न पाइने छैन।

सामाजिक सञ्जाल, एसएमएस, फेसबुक, भाइबर लगायतका विद्युतीय माध्यममार्फत मत माग्नसमेत निषेध गरिएको आयोगले स्पष्ट पारेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी का अनुसार मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने गरी आर्थिक लेनदेन वा अन्य गतिविधि गरेको प्रमाणित भए उम्मेदवारी खारेज हुनुका साथै छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने कडा कारबाही हुन सक्छ। आयोगले यस विषयमा ‘शून्य सहनशीलता’को नीति अपनाइने जनाएको छ।

आयोगका पूर्वप्रमुख दिनेशकुमार थपलियाले मौन अवधिले मतदातालाई शान्त वातावरणमा सोच–विचार गरी विवेकपूर्ण निर्णय लिन अवसर दिने बताए।

उनका अनुसार प्रचारको भीड र दबाबबाट मुक्त भई मतदाताले आफ्ना प्राथमिकता र उम्मेदवारका एजेन्डाको शान्त ढङ्गले समीक्षा गर्न सक्ने वातावरण सिर्जना गर्नु नै मौन अवधिको उद्देश्य हो।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका दलका झन्डा, ब्यानर, पोस्टर र चुनाव चिह्न हटाइसक्नुपर्नेछ। यस अवधिमा उम्मेदवार वा दलको पक्ष–विपक्षमा प्रभाव पार्ने सामग्री प्रकाशन वा प्रसारण गर्न पनि पाइँदैन।

निर्वाचन व्यवस्थापनका दृष्टिले पनि मौन अवधि महत्वपूर्ण मानिएको छ। यसबीच मतदान केन्द्रको तयारी, मतदाता लाइन व्यवस्थापन, सुरक्षाको मूल्याङ्कन र आवश्यक बन्दोबस्तको काम तीव्र पारिनेछ।

आउँदो बिहीबार हुने निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुनेछ।

प्रत्यक्ष प्रणालीअन्तर्गत ६५ राजनीतिक दलका तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार चुनावी दौडमा रहेका छन्।

यसपटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागिताका लागि योग्य छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै