वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सामा भारतसँग जोडिएका सबै सीमानाका बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै सीमानाका बन्द गरिने जानकारी दिएको छ ।
जिल्ला प्रशासनले यही फागुन १८ गते (२ मार्च २०२६) सोमबार राति १२ बजेदेखि फागुन २१ गते (५ मार्च २०२६) बिहीबार राति १२ बजेसम्म जिल्लाका भारतीय सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ।
निर्वाचन आयोग, गृह मन्त्रालयको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आदेश जारी गरिएको बताइएको छ ।
के के मा रोक ?
प्रशासनका अनुसार तोकिएको अवधिमा अत्यावश्यक सेवाबाहेक सीमा आवतजावत पूर्णरूपमा रोक लगाइनेछ।
यसैबीच, होली तथा समा–चकेवा (सामाजिक पर्व) मनाउने सन्दर्भमा पनि कडाइ गरिएको छ।
सार्वजनिक स्थलमा भीडभाड, जुलुस, र्याली, हो–हल्ला, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने गतिविधि तथा मोटरसाइकल प्रयोग गरी होली मनाउने कार्यसमेत निषेध गरिएको छ।
यस्तै, निर्वाचन मौन अवधिभर कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार, झन्डा–ब्यानर प्रदर्शन तथा डीजे लगायतका ध्वनि प्रदूषण गर्ने गतिविधि गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।
आदेश उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै प्रशासनले सबै सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।
