वीरगन्ज । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका बारा, पर्सा र रौतहट जिल्लामा सुरक्षा सतर्कता उच्चस्तरमा पुर्याइएको छ।
यही सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल स्वयं वीरगन्ज पुगेर सुरक्षा निकायका उच्च अधिकारीसँग आकस्मिक समीक्षा बैठक गरेका छन्।
शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। बैठकमा जिल्लागत सुरक्षा अवस्था, निर्वाचन सुरक्षाका चुनौती तथा त्यसको व्यवस्थापनबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिएको थियो।
के–के भयो ब्रिफिङमा?
बैठकमा सहभागी एक अधिकारीका अनुसार मधेसका जिल्लामा राजनीतिक दलहरूबीच अस्वस्थ प्रतिस्पर्धा, असहिष्णु गतिविधि, प्रचार सामग्री च्यात्ने, मतदातामाथि डर–धम्की र त्रास सिर्जना गर्ने प्रवृत्ति, पार्टी परित्याग र प्रवेशलाई लिएर उत्पन्न हुन सक्ने तनाव प्रमुख चुनौतीका रूपमा औंल्याइएको थियो।
त्यसैगरी खुला सीमा, आपराधिक समूहको सक्रियता, अवैध हतियारको सम्भावित प्रयोग र चुनावी प्रतिस्पर्धाबाट बढ्न सक्ने साम्प्रदायिक वा धार्मिक संवेदनशीलता पनि सुरक्षा निकायले चिन्ताको विषयका रूपमा प्रस्तुत गरेको स्रोतले जनाएको छ।
सुरक्षा प्रमुखहरूले जिल्लागत तयारी, परिचालन योजना र जोखिम मूल्याङ्कनबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।
‘संवेदनशील सूचना अहिले सार्वजनिक हुँदैन’
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री अर्यालले यसपटक निर्वाचन सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको बताए। उनले बारा र पर्सामा देखिएका चुनौतीबारे सरकार जानकार रहेको उल्लेख गर्दै त्यससम्बन्धी संवेदनशील विवरण तत्काल सार्वजनिक गर्न नमिल्ने स्पष्ट पारे।
“निर्वाचनको समयमा कानुन उल्लंघन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिन्छ,” उनले भने, “शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न कुनै कसर बाँकी राखिँदैन।”
उनका अनुसार केन्द्रीय सुरक्षा समितिको टोली विभिन्न जिल्लाको अनुगमन गर्दै वीरगन्ज आइपुगेको हो र यहाँको बैठकलाई ‘हाइ–कमान्ड’ स्तरको सुरक्षा समीक्षा मानिएको छ।
को–को थिए सहभागी?
हेलिकप्टरमार्फत वीरगन्ज आइपुगेका गृहमन्त्रीसँगै रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मधेस प्रदेशका नेपाल प्रहरी डिआइजी गोविन्द थपलिया, सशस्त्र प्रहरी डिआइजी कृष्ण ढकाल सहभागी थिए।
यसैगरी बारा र पर्साका प्रमुख जिल्ला अधिकारी तथा दुवै जिल्लाका प्रहरी प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।
सुरक्षा निकायको प्रतिबद्धता
सुरक्षा निकायका अधिकारीहरूले मधेसमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आफूहरू पूर्णरूपमा सक्षम र प्रतिबद्ध रहेको बताएका छन्।
निर्वाचन नजिकिँदै जाँदा मधेसका संवेदनशील जिल्लाहरूमा सुरक्षा निगरानी, गस्ती तथा सूचना संयन्त्रलाई अझ सुदृढ बनाइएको जनाइएको छ।