ट्रेन्डिङ

निर्वाचनअघि बारा र पर्सा ‘हाई अलर्टमा’, वीरगन्जमा गृहमन्त्रीको आकस्मिक सुरक्षा बैठक किन बस्दै ?

वीरगन्ज । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा तराई–मधेसका संवेदनशील जिल्ला बारा र पर्सामा सुरक्षा सतर्कता उच्चस्तरमा पुर्‍याइएको छ।

यही सन्दर्भमा वीरगन्जमा गृहमन्त्री ओमप्रकाश अर्याल स्वयं उपस्थित भएर सुरक्षा फौजसँग आकस्मिक बैठक बसेका छन्।

हेलिकप्टरमार्फत वीरगन्ज आइपुगेका गृहमन्त्री अर्यालले बारा र पर्सामा देखिएका सम्भावित सुरक्षा चुनौतीबारे विस्तृत ब्रिफिङ लिइरहेका छन्।

बैठकमा सहभागी एक उच्च अधिकारीका अनुसार “निर्वाचन बिथोल्ने कुनै पनि गतिविधिलाई शून्य सहनशीलताका साथ नियन्त्रण गर्ने रणनीति”बारे छलफल भइरहेको छ।

सुरक्षा बैठकमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजीहरू, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ)द्वय तथा जिल्ला प्रहरी प्रमुख (एसपी)द्वयको सहभागिता रहेको छ।

स्रोतका अनुसार, खुला सीमा, आपराधिक समूहको चलखेल, अवैध हतियारको सम्भावित प्रयोग तथा चुनावी प्रतिस्पर्धालाई लिएर बढ्न सक्ने तनावलाई केन्द्रमा राखेर रणनीति तयार पारिएको छ।

गृहमन्त्री अर्यालले ब्रिफिङपछि विशेष निर्देशन दिने कार्यक्रम रहेको जनाइएको छ।

तराईका यी दुई जिल्लालाई सुरक्षा दृष्टिले अति संवेदनशील मानिँदै आएको अवस्थामा गृहमन्त्रीको प्रत्यक्ष उपस्थितिले सुरक्षा संयन्त्रलाई ‘हाई कमान्ड’बाट स्पष्ट सन्देश गएको विश्लेषण गरिएको छ।

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा फौज पूर्ण तयारीमा रहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै