ट्रेन्डिङ

लोकसेवा प्रतिस्पर्धी नै बने सर्लाहीका सब–इन्जिनियर हत्याका मुख्य योजनाकार, तीन जना पक्राउ

सर्लाही । सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या योजनाबद्ध रूपमा भएको खुलेको छ।

घटनाको मुख्य योजनाकार लोकसेवा आयोगका प्रतिस्पर्धी रहेको प्रहरीले जनाएको छ।

गत फागुन ३ गते साँझ मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका यादवमाथि गोली प्रहार गरी हत्या गरिएको थियो।

अनुसन्धानका क्रममा लोकसेवा आयोग परीक्षाका प्रतिस्पर्धी रहेका गणेश महतोले हत्याको योजना बनाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार मृतक यादव र महतो लोकसेवा परीक्षामा प्रतिस्पर्धी थिए।

वैकल्पिक सूचीमा पहिलो नम्बरमा रहेका महतोले यादवको हत्या गरी उनको स्थानमा जागिर खाने योजना बनाएको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले दाबी गरेको छ।

डिएसपी राईले भने, “आरोपी महतो लोकसेवा परीक्षाका प्रतिस्पर्धी हुन्, र अनुसन्धानबाट सब–इन्जिनियरको हत्या उनकै योजनामा भएको देखिएको छ।”

प्रहरीले घटनामा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्ने अन्यमा चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतो रहेका छन्।

महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका मुख्य आरोपी गणेश महतो लाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई अदालतबाट १५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै