वीरगन्ज । जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले आज आफ्नो निर्वाचन क्षेत्रमा सघन घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ अन्तर्गत मुर्लि क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट गरेका हुन्।
घरदैलोका क्रममा स्थानीयबासीको उल्लेख्य सहभागिता र उत्साहजनक समर्थन देखिएको उनको दाबी छ।
मुर्लिबासीले यसपटक विकास, पारदर्शिता र जवाफदेहिताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेको सरार्फले बताए।
“वीरगन्जलाई भोट बैंकको रूपमा प्रयोग गरेर वर्षौंदेखि ठग्ने प्रवृत्तिको अन्त्य गर्न जनता आतुर छन्,” उनले भने, “यसपालि मतको माध्यमबाट सवक सिकाउँदै जनमत पार्टीको हरन छापमा मतदान गर्ने वातावरण बनेको छ।”
घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार तथा उद्योग–व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।
सरार्फले ती मागलाई आफ्नो प्रमुख एजेन्डामा समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
चुनाव नजिकिँदै जाँदा वीरगन्ज क्षेत्रमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ भने जनमत पार्टीले पनि आफ्नो प्रचार अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको देखिन्छ।