ट्रेन्डिङ

१ खर्बको उद्योग भित्र्याउने घोषणा : पर्सा–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाको १२ बुँदे ‘डेभलपमेन्ट ब्लुप्रिन्ट’

वीरगन्ज। पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुंग्टाले निर्वाचन लक्षित विकास प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।

वीरगन्ज तेजारथ टोलस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले क्षेत्रको आर्थिक समृद्धिदेखि शिक्षा, स्वास्थ्य र रोजगारीसम्मका विषय समेटिएको १२ बुँदे एजेन्डा प्रस्तुत गरेका हुन्।

उम्मेदवार रुंग्टाले आफ्नो क्षेत्रका आम मतदातासँग सुझाव संकलन गरी सर्वसाधारणको चाहना अनुसार प्रतिज्ञापत्र तयार पारिएको दाबी गरे।

उनले विशेषगरी वीरगन्जको आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै आर्थिक स्वतन्त्रता, रोजगारी सिर्जना, स्वास्थ्य सेवा सुधार, पूर्वाधार विस्तार र ग्रामीण क्षेत्रको विकासलाई समेटिएको स्पष्ट खाका तयार गरिएको बताए।

पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा भ्रष्टाचारमुक्त विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

उनका अनुसार पाँच वर्षभित्र वीरगन्ज क्षेत्रमा १ खर्ब रुपैयाँ बराबरको औद्योगिक लगानी भित्र्याउने योजना तयार गरिएको छ।

निर्यातमुखी नीतिलाई प्रोत्साहन गरेर उद्योग स्थापना गर्ने वातावरण सिर्जना गरिने र यसबाट हजारौं युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने लक्ष्य रहेको उनले जानकारी दिए।

वीरगन्ज आसपासका युवाहरु रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै रुंग्टाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न उद्योग सञ्चालनको रोडम्याप तयार पारिएको बताए।

आर्थिक अध्ययनका आधारमा क्षेत्रको बेरोजगारी समस्या सम्बोधन गर्न औद्योगिक विकासलाई प्रमुख उपायका रूपमा अघि सारिएको उनको भनाइ छ।

शिक्षा र स्वास्थ्य सुधारलाई समेत आफ्नो एजेन्डामा समेटिएको छ।

सामुदायिक विद्यालयको स्तरोन्नति, गुणस्तरीय शिक्षा प्रणालीको विकास र विपन्न वर्गका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने योजना रहेको उनले बताए।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने, सस्तो र सहज सेवा विस्तार गर्ने तथा नारायणी अस्पताललाई आधुनिक मेडिकल हबका रूपमा विकास गर्ने अवधारणा रहेको उनको भनाइ छ।

साथै वीरगन्जको आर्थिक गतिविधि सुदृढ बनाउन विशेष आर्थिक स्वतन्त्रता योजनामार्फत लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्य लिइएको छ।

यस योजनाले क्षेत्रको आर्थिक संरचनामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको रुंग्टाले बताए।

उनले पानीको समस्या समाधान, सिर्सिया नदीको सफाइ तथा फोहोर व्यवस्थापनलाई समेत प्रतिज्ञा पत्रमा समेटिएको जानकारी दिए।

पाँच वर्षभित्र समग्र विकासको आधार तयार गर्ने गरी तयार गरिएको यो एजेन्डाले पर्सा–१ को आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने विश्वास गरिएको छ।

स्थानीय राजनीतिक वृत्तमा रुंग्टाको विकास योजनालाई महत्वका साथ हेरिएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै