वीरगन्ज। पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ बुँदे विकासमूलक एजेन्डा सार्वजनिक गरेका छन्।
वीरगन्जलाइ व्यवसायमैत्री, रोजगारीमुखी र समृद्ध महानगरका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित उनले समग्र विकासको स्पष्ट खाका प्रस्तुत गरेका हुन्।
सरार्फले सार्वजनिक गरेका १२ बुँदामा रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधार, पूर्वाधार विकास, भ्रष्टाचार नियन्त्रण, व्यवसाय प्रवर्द्धन, महिला सशक्तीकरण, कृषि आधुनिकीकरण, खेलकुद विकास, एकीकृत सेवा केन्द्र सञ्चालन, संस्कृति संरक्षण र नागरिक सहभागिता सुदृढीकरण लगायतका विषय समेटिएका छन्।
रोजगारी र अर्थतन्त्र
वीरगंज देशको प्रमुख व्यापारिक नाका हुँदाहुँदै पनि युवाहरू वैदेशिक रोजगारीतर्फ जान बाध्य रहेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षमा कम्तीमा ३० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन्।
१० हजार युवालाई सीप तालिम, ५ अर्ब रुपैयाँको युवा स्वरोजगार कोष र स्टार्टअप सहयोग कार्यक्रममार्फत स्थानीय रोजगारी बढाइने उनले बताए।
शिक्षा र स्वास्थ्यमा सुधार
सामुदायिक विद्यालयको स्तरोन्नति, स्मार्ट कक्षा विस्तार, शिक्षक तालिम तथा छात्रवृत्ति कार्यक्रममार्फत विद्यालय छोड्ने दर उल्लेख्य रूपमा घटाइने योजना छ।
स्वास्थ्य क्षेत्रमा नगर स्वास्थ्य बीमा, सस्तो अस्पताल सेवा, ५० भन्दा बढी निःशुल्क स्वास्थ्य शिविर र २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गरिने सरार्फको प्रतिबद्धता छ।
पूर्वाधार र सुशासन
आगामी पाँच वर्षमा ८० किलोमिटर सडक स्तरोन्नति, वर्षा पानी निकास सुधार, स्मार्ट सडक बत्ती र हरित पार्क निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ।
महानगरका सबै सेवा डिजिटल प्रणालीमा लैजाने, ई–टेन्डर अनिवार्य गर्ने र २४ घण्टा गुनासो हेल्पलाइन सञ्चालनमार्फत पारदर्शिता सुनिश्चित गरिने बताइएको छ।
व्यवसाय, कृषि र महिला सशक्तीकरण
वन स्टप बिजनेस सहायता केन्द्र स्थापना गरी पाँच वर्षभित्र ५ हजार नयाँ व्यवसाय दर्ता गर्ने लक्ष्य राखिएको छ।
साथै ५ हजार महिला तथा युवालाई सीप तालिम र सहुलियत ऋणमार्फत १० हजार रोजगारी सिर्जना गरिने योजना छ। कृषि क्षेत्रमा आधुनिक सिचाइ, कोल्ड स्टोर र किसान बजारमार्फत उत्पादन २० प्रतिशतले वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको छ।
खेलकुद, संस्कृति र नागरिक सहभागिता
१० नयाँ खेल मैदान निर्माण, कभर्ड हल स्तरोन्नति र वार्षिक महानगर खेलकुद महोत्सव आयोजना गरिनेछ।
वार्षिक सांस्कृतिक महोत्सव, स्थानीय कला संरक्षण कोष र विद्यालयस्तरीय सांस्कृतिक कार्यक्रम सञ्चालन गरी बहुसांस्कृतिक पहिचान जोगाइने बताइएको छ।
साथै सहभागी बजेट प्रणाली र नियमित सार्वजनिक सुनुवाइमार्फत नागरिक सहभागिता मजबुत बनाइने योजना छ।
सरार्फले आफ्नो १२ बुँदे एजेन्डा कार्यान्वयनमार्फत वीरगंजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा नयाँ उचाइमा पुर्याउने दाबी गरेका छन्।