काठमाण्डौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनौतीबारे प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायसँग ब्रिफिङ लिएकी छन् ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री कार्कीले चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको सुरक्षा चुनौतीबारे ब्रिफिङ लिएकी हुन् ।
मंगलबार बालुवाटारमा भएको ब्रिफिङमा गृहमन्त्री ओमप्रकाश अर्याल समेतको सहभागी थियो ।
सो क्रममा उनीहरुले तराई मधेसमा फागुन १९ गते होली पर्व परेकाले त्यसबारे छलफल गरेका थिए । यस्तै मंगलबार पानी परेका कारण उच्च हिमाली जिल्लामा हिउँ पर्नसक्ने र त्यसबाट व्यवस्थापनमा असर पर्नसक्ने ब्रिफिङ दिएका छन् ।
सुरक्षा निकायका शीर्ष अधिकारीहरूले एकीकृत सुरक्षा योजनाअनुसार देशभर सुरक्षा रणनीति प्रभावकारी रूपमा अघि बढिरहेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् । निर्वाचन प्रक्रियालाई बिथोल्ने खालका ठूला चुनौतीहरू हालसम्म नदेखिएको निष्कर्षसमेत ब्रिफिङमार्फत प्रस्तुत गरिएको छ ।
बैठकमा तराई क्षेत्रमा होली पर्वको समयमा मदिरा बिक्री–वितरणमा रोक लगाउने विषयमा समेत गम्भीर छलफल भएको थियो । प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार शान्ति–सुरक्षा सुदृढ राख्न आवश्यक कदमहरू अघि बढाइने समझदारी बनेको छ ।
यसैगरी, चुनावअघि मौसम अनुकूल हुने आकलन बैठकले गरेको छ । चिसोका कारण उच्च हिमाली जिल्लामा मतदान प्रभावित नहुने निष्कर्ष निकालिएको एक सहभागी अधिकृतले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले प्रस्तुत सुरक्षा रणनीतिप्रति सन्तोष व्यक्त गर्दै सम्भावित चुनौतीप्रति उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन् । उनले सुरक्षा चुनौती सिर्जना गर्न सक्ने व्यक्ति वा समूहको निगरानी कडा बनाउन र कुनै पनि अस्थिरता हुन नदिन संवेदनशील रूपमा परिचालन हुन सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएकी छन् ।
यही फागुन २१ गते देशैभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुदैँछ ।