वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर- १ अन्तर्गत पर्ने सुखचैनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ठूलो समूह प्रवेश गरेको छ।
आज आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा विभिन्न पेशा र व्यवसायमा आबद्ध स्थानीय व्यक्तिहरू रास्वपामा औपचारिकरूपमा आबद्ध भएका हुन्।
कार्यक्रममा बोल्दै रास्वपाका सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले सुखचैनामा भएको सामूहिक प्रवेशले क्षेत्र १ मा पार्टीको संगठन थप सुदृढ भएको दाबी गरे।
उनले जनतामा वैकल्पिक राजनीतिक शक्तिप्रति विश्वास बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रास्वपाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
पन्तले “पुराना दलप्रति बढ्दो असन्तुष्टिका बीच रास्वपाप्रति आकर्षण स्वाभाविक रूपमा बढिरहेको” टिप्पणी गर्दै विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको र पार्टीले आगामी दिनमा घरदैलो तथा संगठन विस्तार अभियानलाई थप तीव्र बनाउने जनाएको छ।