ट्रेन्डिङ

पर्साको भिस्वा र सबैठवामा सरार्फको घरदैलो : सडक, ढल र रोजगारी मुख्य एजेन्डा

वीरगन्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर- १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

जनमत पार्टीका उम्मेदवार सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर- १५ भिस्वा र वडा नम्बर- २३ सबैठवामा सन्ध्याकालीन सभा तथा घरदैलो गरेका हुन्।

घरदैलोका क्रममा स्थानीयले वर्षौंदेखि समाधान नपाएका समस्या खुलेर राखे।

भिस्वामा सडकको दयनीय अवस्था, ढल निकास अभाव, खानेपानी र सरसफाइको कमजोरी मुख्य मुद्दा बने।

वर्षायाममा हिलाम्मे सडक र पानी जमेर दुर्गन्ध फैलिने समस्या तत्काल समाधान गर्न माग गरिएको छ।

सबैठवामा पनि कच्ची सडक, अव्यवस्थित ढल, सडकबत्ती अभाव, स्वास्थ्य सेवामा पहुँचको कमी र युवाका लागि रोजगारी अवसर नहुँदा उत्पन्न समस्या उठाइयो।

स्थानीयले आधारभूत पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।

स्थानीयको गुनासो सुन्दै सरार्फले “देखिने र महसुस हुने विकास” गर्ने प्रतिबद्धता दोहोर्‍याए।

सडक, ढल, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवा सुधारलाई पहिलो प्राथमिकता बनाउने उनको भनाइ छ।

“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने।

घरदैलो कार्यक्रममा युवा, महिला र ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता देखिएको थियो।

जनमत पार्टीका नेता–कार्यकर्ताको सक्रिय उपस्थितिमा सम्पन्न कार्यक्रमले पर्सा–१ को चुनावी माहोल थप तातेको छ।

सरार्फले आगामी दिनमा अन्य वडामा पनि अभियानलाई निरन्तरता दिने बताएका छन्।

“जनताको विश्वास, विकासको आधार” नारासहित अघि बढेको उनको अभियानले स्थानीय समस्यालाई केन्द्रमा राख्दै मतदातामा नयाँ आशा जगाएको दाबी गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै