वीरगन्ज । नेपाली कांग्रेस का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा उम्मेदवार अनिल रुंग्टाले चुनावी अभियानलाई आक्रामक ढंगले अघि बढाएका छन्।
मंगलबार वीरगन्ज महानगरपालिका–२ अन्तर्गत छपकैया र घुसुकपुर क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन मागेका हुन्।
टोलटोल र घरघर पुगेर मतदातासँग संवाद गरेका रुंग्टाले यसपटक पर्सा–१ मा परिवर्तनको लहर कांग्रेसतर्फ देखिएको दाबी गरे।
उनले क्षेत्रको विकास, रोजगारी सृजना, सडक तथा पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै आफूलाई विजयी गराउन आग्रह गरे।
“पर्सा–१ लाई राजनीतिक अस्थिरता होइन, अब परिणाम चाहिन्छ,” उनले भने।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले समेत विभिन्न समस्या र अपेक्षा राखेका थिए।
खानेपानी, ढल निकास, सडक मर्मत र युवा रोजगारीका विषयमा उठेका सवालमा रुंग्टाले समाधानमुखी योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाए।
घरदैलो कार्यक्रमपछि आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसले उल्लेखनीय शक्ति प्रदर्शन गरेको छ।
विभिन्न राजनीतिक दल परित्याग गर्दै करिब २५० जनाले कांग्रेसमा टिका तथा खादा लगाएर औपचारिकरूपमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै कांग्रेस नेताहरूले पर्सा–१ मा पार्टीको जनाधार दिनप्रतिदिन विस्तार हुँदै गएको दाबी गरे।
कार्यक्रममा सहभागी कार्यकर्ता तथा स्थानीय नेताहरूले आगामी निर्वाचनमा पर्सा–१ मा कांग्रेसले स्पष्ट जित हासिल गर्ने दाबीसमेत गरेका छन्।
पछिल्लो समय क्षेत्रभर बढ्दो सहभागिता र समर्थनले चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ।
कांग्रेसले अब घरदैलो, टोलसभा र कार्यकर्ता परिचालनलाई अझ तीव्र बनाउने जनाएको छ।
पर्सा–१ मा चुनावी सरगर्मी चरममा पुग्दै जाँदा रुंग्टाको अभियानले स्थानीय राजनीतिक माहोल थप तातिएको देखिन्छ।