वीरगन्ज । मधेसी अधिकारको मुद्दालाई केन्द्रीय एजेन्डा बनाउँदै आएको जनता समाजवादी पार्टी, नेपालले वीरगन्ज महानगरपालिका अन्तर्गत बेलवामा चुनाव प्रचार कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टीका नेता–कार्यकर्तासहित व्यापक घरदैलो र मतदाता भेटघाट गरिएको थियो।
पर्सा निर्वाचन क्षेत्र नम्बर- १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादवको अगुवाइमा सम्पन्न कार्यक्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘छाता’ छापमा मतदान गर्न आग्रह गरे।
घरदैलोका क्रममा यादवले मधेसको अधिकार, समावेशी विकास र स्थानीय समस्याको दीर्घकालीन समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।
“मधेसको आवाज सशक्त रूपमा संसदमा पुर्याउन जसपाको जित आवश्यक छ,” उनले भने।
कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।
टोल–टोल पुगेर गरिएको प्रचार अभियानले बेलवा क्षेत्रमा चुनावी माहोल झनै तातेको कार्यकर्ताहरूले बताएका छन्।
जसपाले क्षेत्र नं. १ मा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ।