वीरगन्ज । नेपाली कांग्रेसले वीरगन्जका वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको सदस्यमा मनोनयन गरेको छ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयबाट माघ २९ गते जारी नियुक्तिपत्रमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने र समानुपातिकतर्फ मतभार वृद्धि गर्ने रणनीतिसहित प्रचारप्रसार संयन्त्रलाई थप प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउन चौहानलाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ।
पत्रकारिता क्षेत्रमा लामो अनुभव र सक्रिय उपस्थितिका कारण चौहानले सञ्चारमाध्यमसँग सशक्त समन्वय गर्दै चुनावी सन्देशलाई जनतासम्म प्रभावकारी ढंगले पुर्याउने विश्वास पार्टीको छ।
पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचारप्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित नियुक्तिपत्र प्राप्त गरेपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, निष्ठा र परिणाममुखी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेसले अनुभवी सञ्चारकर्मीलाई नेतृत्व तहमा जोड्दै चुनावी प्रचार अभियानलाई थप सशक्त बनाउने संकेत दिएको छ।