वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तलाई मुर्लीमा घरदैलो कार्यक्रमका क्रममा स्थानीयले काँबर बोकाएर स्वागत गरेका छन्।
मतदाता भेटघाटका लागि मुर्ली पुगेका पन्तलाई स्थानीय समर्थकहरूले परम्परागत शैलीमा काँबर बोकाएर टोल–टोलमा घुमाएका थिए।
काँबरको अगाडि र पछाडि रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाह को तस्बिर झुन्ड्याइएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको देखिन्थ्यो।
घरदैलोका क्रममा स्थानीयले ठाउँ–ठाउँमा टीका, माला र खादा लगाएर उम्मेदवार पन्तको स्वागत गरेका थिए।
उनीहरूले यसपटकको निर्वाचनमा आफ्नो वडाबाट रास्वपालाई अग्रस्थानमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
मुर्ली क्षेत्रमा देखिएको समर्थनले पन्तको चुनावी अभियान थप उत्साहित बनेको उनका समर्थकहरूको भनाइ छ।