ट्रेन्डिङ

रौतहटमा साल तस्करी विफल: भारतीय नम्बरको सुमो र मोटरसाइकलसहित काठ बरामद, तस्कर फरार

रौतहट । रौतहटको जंगलसहिया क्षेत्रमा अवैध साल काठ तस्करी प्रयास सशस्त्र प्रहरी बल र वन सुरक्षाको संयुक्त टोलीले विफल पारेको छ।

संयुक्त गस्तीका क्रममा काठ बोकेको एकथान टाटा सुमो गाडी र एकथान मोटरसाइकलसहित दुई गोलिया साल काठ बरामद गरिएको हो।

जंगलसहिया सब–डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको नेतृत्वमा खटिएको टोलीले बुधबार राति करिब ९ः३० बजे साझेदारी वनअन्तर्गत बागमती नहर नजिक शंकास्पद गतिविधि देखेपछि जाँच गरेको थियो।

जाँचका क्रममा भारतीय नम्बर प्लेटको सुमो गाडीमा लोड गरिएको साल काठ फेला परेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घटनास्थलबाट ना ६७ प १०५१ नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

टोली घटनास्थलमा पुग्नासाथ तस्करीमा संलग्न व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएका डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहले जानकारी दिए।

बरामद गरिएको काठ, सुमो र मोटरसाइकल हाल डिभिजन वन कार्यालय रौतहटको नियन्त्रणमा राखिएको छ।

काठको नापजाँच प्रक्रिया अघि बढाइएको छ भने फरार तस्करहरूको खोजी कार्य तीव्र पारिएको कार्यालयले जनाएको छ।

वन क्षेत्रबाट अवैध काठ ओसारपसार रोक्न संयुक्त गस्तीलाई थप सक्रिय बनाइएको सुरक्षा निकायको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै