ट्रेन्डिङ

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा चार वर्षीय बालिकाको मृत्यु

रौतहट । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको स्टीकर टाँसिएको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्लाको ईशनाथ नगरपालिकामा भएको दुर्घटनामा सोही नगरपालिका निवासी सागिर मोहम्मदकी छोरी अल्फा खातुन (४) गम्भीर घाइते भएकी थिइन्।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार रास्वपा क्षेत्र नम्बर–२ का उम्मेदवार सेख सागिरको स्टीकर टाँसिएको बा १५ च ४२४४ नम्बरको गाडीले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको हो। रौतहटका प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार दुर्घटनाको समयमा गाडीमा उम्मेदवार स्वयं भने सवार थिएनन्।

दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको र चालकको खोजी तीव्र रूपमा भइरहेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बालिकाको असामयिक निधनले स्थानीय क्षेत्र शोकमा डुबेको छ भने चुनावी प्रचारका क्रममा सवारी साधनको लापरवाहीमाथि गम्भीर प्रश्न उठेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै