वीरगन्ज । पर्सा क्षेत्र नम्बर–४ मा चुनावी माहोल चर्किंदै जाँदा उम्मेदवारभन्दा अगाडि मतदाताको आक्रोश बोल्न थालेको छ।
टोल–टोलमा पुगेका उम्मेदवारलाई मतदाताले स्वागतभन्दा बढी प्रश्न र गुनासो सुनाइरहेका छन्। विकासका नारा धेरै सुनिए, तर जीवनस्तर फेरिने काम नदेखिएको भन्दै यसपटक मतदाताको मन बदलिँदै गएको देखिन्छ।
ठोरी गाउँपालिका–५ की कान्छीमाया लामा यसपटक मतदान गर्दा गम्भीर भएर सोच्ने बताउँछिन्।
उनका अनुसार अघिल्ला चुनावमा जितेर गएकाहरूले गाउँका आधारभूत समस्या छुँदासमेत छुँदैनन्।
“यहाँ पिउने पानीकै हाहाकार छ, खेती गर्न बोरिङ छैन।
दशकौं पुरानो समस्या आजसम्म जस्ताको तस्तै छ,” उनी भन्छिन्।
चुनावका बेला नेता देखिने तर जितेपछि पाँच वर्षसम्म बेपत्ता हुने प्रवृत्तिले जनता दिक्क भइसकेको उनको भनाइ छ।
ठोरीमा मात्र होइन, सुवर्णपुरमा पनि असन्तुष्टि उस्तै छ।
स्थानीय बाबुराम बुढाथोकी यसपटक पुराना दलबाट टाढा रहने मनस्थितिमा छन्।
कांग्रेस, एमाले र माओवादी सबैलाई अवसर दिइसके पनि आफ्नो क्षेत्रको मुहार नफेरेको उनको ठम्याइ छ।
“अहिले आएर सच्चिने आश्वासन दिइरहेका छन्, तर त्यो विश्वास गर्ने समय सकियो,” उनी भन्छन्।
जिराभवानी गाउँपालिका–१ का लालु यादव किसानका समस्या झनै पीडादायी भएको बताउँछन्।
मल, सिंचाइ, सडक जस्ता न्यूनतम आवश्यकता पनि पूरा नभएको उनको गुनासो छ।
“किसान आफैंले मल खोज्नुपर्यो, बोरिङको कुरा उठाउँदा कसैले सुनेन,” उनी आक्रोश पोख्छन्।
जगरनाथपुर गाउँपालिकाको दलित बस्तीमा अवस्था अझै गम्भीर छ।
जगरनाथपुर–२ का राजेन्द्र राउत डोम भन्छन्— दलित समुदायलाई विकास योजनामा सधैं पन्छाइन्छ।
“राहत होस् या आवास, सबैमा बेवास्ता हुन्छ। हामीलाई भोट बैंक मात्र ठानिन्छ,” उनको भनाइ छ।
कतिपय डोम परिवारसँग बस्नका लागि पक्की घरसमेत छैन, पिउने पानीको समस्या त झनै पुरानै हो।
धोबनी गाउँपालिकाका बासिन्दा गणेश साह पनि पुराना अनुहारप्रति निराश छन्।
सडक, विद्यालय र कृषिका सामग्रीजस्ता आधारभूत क्षेत्रमा जनप्रतिनिधिले चासो नदिएको उनको आरोप छ।
यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार मैदानमा छन्।
नेपाली कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मिया मन्सुरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाही, नेकपाबाट जयप्रकाश थारु, जसपा नेपालबाट कृपा सिन्धु चौधरी, उज्यालो नेपाल पार्टीबाट विनोदप्रसाद यादवसहित अन्य उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
पर्सा–४ अन्तर्गत ठोरी, जिराभवानी, धोबनी, जगरनाथपुर, कालिकामाई र छिपहरमाई गाउँपालिका तथा पोखरिया र पकहामैनपुरका एक–एक वडा पर्दछन्।
यहाँका मतदाताले यसपटक भाषण होइन, काम खोजिरहेका छन्।
चुनावी नतिजा कसको पक्षमा जान्छ भन्नेभन्दा पनि, जनताको धैर्य अब अन्तिम सीमामा पुगेको स्पष्ट देखिन्छ।