वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तलाई वीरगन्ज भन्सार एरियाका स्थानीयवासीले उत्साहजनक स्वागत गरेका छन्।
रास्वपाले आज आयोजना गरेको घरदैलो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वागत गर्दै वीरगन्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले अब मुलुकमा आमूल परिवर्तन सम्भव बनाउने शक्ति रास्वपामात्रै भएको दाबी गरे।
सुशासन, पारदर्शिता र समृद्धिको यात्रामा देशलाई अघि बढाउन आफूहरू निस्वार्थ रूपमा रास्वपाको पक्षमा उभिएको उनले बताए।
घरदैलो अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं उम्मेदवार पन्तले पुराना दलका उम्मेदवारहरू मत माग्न आएमा उनीहरूलाई विगत ३५ वर्षमा के गरे र अब जितेपछि के गर्छन् भन्ने प्रश्न गर्न मतदातालाई आग्रह गरे।
उनले फेरि पनि त्यही पुराना दलहरूलाई मत दिएर जेन्जी आन्दोलनको उपहास नगर्न अपिल गर्दै, परिवर्तनका लागि नयाँ राजनीतिक विकल्प रोज्नुपर्ने बताए।
घरदैलो अभियानका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।
कार्यक्रममा रास्वपा नेता–कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।