ट्रेन्डिङ

रास्वपा उम्मेदवार हरि पन्तद्वारा सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट गरेका छन्।

रास्वपाले आज आयोजना गरेको जगरनाथपुरको घरदैलो कार्यक्रमका क्रममा पन्तले सहिद दिलिप चौरसियाकी आमा रामज्योती देवी, दाजु पृथ्वी नारायण चौरसियालगायत परिवारका सदस्यहरूसँग भेटघाट गरेका हुन्।

भेटका क्रममा सहिद परिवारले मधेस आन्दोलनको जगमा राजनीति गर्ने तर पछि मधेसीमाथि गोली चलाउने दलहरूसँग मिलेर आन्दोलनकै उपहास गरिएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनीहरूले मधेस आन्दोलनका सहिदहरूको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाए।

साथै, आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूर्ण समर्थन रहने सहिद परिवारले बताएका छन्।

भेटघाटका क्रममा रास्वपा उम्मेदवार एवं पर्सा जिल्ला सभापति हरि पन्तले मधेस आन्दोलनका सहिदहरूलाई पनि जेनजी आन्दोलनका सहिदसरह राज्यबाट सम्मान र व्यवहार सुनिश्चित गर्न दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, मंगलबार सम्पन्न रास्वपा उम्मेदवार हरि पन्तको जगरनाथपुर घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

वीरगन्ज महानगरपालिका वडा नम्बर–२२ जगरनाथपुरमा आयोजित स्वागत तथा घरदैलो कार्यक्रममा ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पार्टीले जनाएको छ।

घरदैलो कार्यक्रमको सुरुवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चनासँगै गरिएको थियो। त्यसपछि जगरनाथपुर चौकबाट सुरु भएको कार्यक्रम वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य र प्रतिबद्धताबारे जानकारी गराएका थिए।

कार्यक्रममा सहभागी स्थानीयले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य र सुशासनसम्बन्धी समस्या तथा सुझाव राखेका थिए।

पन्तले उठाइएका विषयहरूलाई नोट गर्दै समाधानमुखी पहल गर्ने आश्वासन दिएका छन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

निर्वाचन परिचालन समिति, वीरगन्ज–२२ जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीयवासी, पार्टी कार्यकर्ता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै