वीरगन्ज । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–२ को चुनावी दृश्य सतहमै हेर्दा सामान्य देखिन्छ।
उम्मेदवारहरू टोल–टोल पुगेर हात जोड्दै भोट मागिरहेका छन्।
तर भित्रभित्रै मतदाताको मनोविज्ञान विस्फोटको नजिक छ।
यहाँका मतदाता यसपटक केवल उम्मेदवार होइन, अघिल्ला पाँच वर्षको काम–नकामको फैसला गर्न तयार देखिन्छन्।
जेनजी आन्दोलनपछि सडकमा पोखिएको आक्रोश अब ब्यालेट बक्समा खनिने चरणमा पुगेको पर्सा–२ का मतदाताहरू बताउँछन्।
“अब आश्वासनले चल्दैन,” उनीहरूको साझा भनाइ छ, “यो चुनावमा हिसाबकिताब हुन्छ।”
खानेपानी, मलखाद, सडक–नाला, रोजगारी र गुणस्तरीय शिक्षा दशकौँदेखि दोहोरिँदै आएका यी मुद्दामा हरेक निर्वाचनमा वाचा भए, तर काम भएन।
यही निराशाले भदौ २३ र २४ गते जेनजी आन्दोलनलाई उर्जा दिएको र त्यसको असर अहिले चुनावी राजनीतिमा देखिन थालेको स्थानीयको बुझाइ छ।
वीरगन्ज–१० का अरुणलाल दास खुलेर भन्छन्, “पहिला नाम हेरेर भोट हालियो, अब काम हेरेर मत हालिन्छ।”
उनका अनुसार मतदान अब अधिकार मात्र होइन, जवाफदेहिता खोज्ने हतियार बनेको छ।
“पाँच वर्ष जनताबाट टाढा बस्नेहरूलाई यसपटक सजिलै माफी छैन,” दासको चेतावनी छ।
राजनीतिक दलहरू सत्ता समीकरण र स्वार्थको खेलमा अल्झिँदा जनताको जीवन जस्ताको तस्तै रहेको वीरगन्ज–२६ का जलेश्वर सर्राफ बताउँछन्।
“यो क्षेत्रमा ठोस विकासको एउटा उदाहरण देखाउन सकिन्छ ?” उनी प्रश्न गर्छन्, “अब जनताले कुरा होइन, परिणाम खोज्छन्।”
जगरनाथपुरका जादोलाल चौरसियाको आक्रोश पनि दबिएको छैन।
“चुनावका बेला मात्रै देखिने नेता अब चल्दैन,” उनी भन्छन्, “जनताको बिचमै रहने, मल, सडक, पुल र रोजगारीको कुरा व्यवहारमा उतार्ने नेतृत्व चाहिएको छ।”
उनका अनुसार यो चुनाव पुराना अभ्यासमाथिको जनमत संग्रह हो।
अलौंका ज्येष्ठ नागरिक जनक राउत अहिर यसपटक मतदाताले ‘इतिहास होइन, भविष्य’ हेरेर निर्णय गर्ने बताउँछन्।
“त्यागको नाममा भोट दिइयो,” उनी भन्छन्, “तर नेताहरूले जनताको विश्वासलाई कमजोरी ठाने। अब ब्यालेटमार्फत जवाफ दिने बेला आएको छ।”
बहुदरमाई–१ का दशै दास पनि उस्तै चेतावनी दिन्छन्।
“पाँच वर्ष हराउने र चुनाव आउँदा मात्रै देखिने नेताहरूलाई यसपटक जनताले चिनिसके,” उनी भन्छन्।
उनका अनुसार पर्सा–२ ले अझै अपेक्षित विकास देख्न पाएको छैन।
पर्सा क्षेत्र नम्बर–२ मा विभिन्न दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेबाट रिमा कुमारी यादव, नेपाली कांग्रेसबाट अजय कुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील कुमार कानु, नेकपाबाट मनोज कुमार चौधरी, राप्रपाबाट वीना जैसवाल, जसपा नेपालबाट अशोक टेमानी, जनमत पार्टीबाट श्याम गुप्तासहितका उम्मेदवार मैदानमा छन्।
९५ हजार १२० मतदाता रहेको यो निर्वाचन क्षेत्रमा बहुदरमाई, पर्सागढी नगरपालिका र वीरगन्ज महानगरपालिकाका २६ वडा पर्छन्।
अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट अजयकुमार चौरसिया निर्वाचित भएका थिए।