वीरगन्ज । नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले आज पर्साको छिपहरमाई गाउँपालिकामा घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
गाउँपालिका वडा नम्बर–५ भिस्वामा आयोजित घरदैलो कार्यक्रममा रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्।
घरघरमा पुगेर उनले मतदाताका गुनासा, अपेक्षा र स्थानीय समस्याबारे जानकारी लिँदै कांग्रेसको एजेन्डा र विकास योजनाबारे धारणा राखेका थिए।
घरदैलोका क्रममा रिजालले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले जनताको भरोसा र समर्थनले मात्रै क्षेत्रको समग्र विकास सम्भव हुने उल्लेख गर्दै लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई साथ दिन अपिल गरे।
स्थानीय मतदाताहरूले पनि घरमै आएर उम्मेदवारले समस्या सुनेको भन्दै सकारात्मक प्रतिक्रिया जनाएका छन्।
उनीहरूले छिपहरमाई क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट योजना आवश्यक रहेको बताएका थिए।
कांग्रेस उम्मेदवार रिजालले आगामी दिनमा पनि विभिन्न वडामा घरदैलो र जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।