वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवार अनिल कुमार रुंगटासँग आज वीरगन्ज महानगरपालिका वडा नम्बर–३० का बासिन्दाबीच अर्थपूर्ण साक्षात्कार भएको छ।
साक्षात्कारका क्रममा स्थानीय मतदाताले अब भाषण र आश्वासनले होइन, काममा निरन्तरता, पारदर्शीता र जवाफदेहितासहितको विकास चाहिएको स्पष्ट सन्देश दिएका छन्।
स्थानीयवासीहरूले विगतमा निर्वाचित जनप्रतिनिधिहरूले थालिएका योजना अधुरै छाडेको, बजेट खर्च भए पनि परिणाम नदेखिएको भन्दै असन्तोष व्यक्त गरे।
“विकासको नाममा बोर्ड त लाग्छ, तर जनताको जीवन बदलिँदैन,” उनीहरूको गुनासो थियो।
शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर देखिने र महसुस हुने विकास आवश्यक रहेको मतदाताको जोड थियो।
स्थानीयको तीखो प्रश्न र अपेक्षाको जवाफ दिँदै उम्मेदवार रुंग्टाले आफ्नो राजनीति सुशासन र पारदर्शितामै आधारित रहने स्पष्ट पारे।
उनले विकास योजनामा सार्वजनिक सुनुवाइ, खर्च विवरणको पारदर्शी प्रकाशन र जनताको प्रत्यक्ष निगरानी सुनिश्चित गरिने प्रतिबद्धता जनाए।
रुंग्टाले “जनताको चाहना र मेरो योजना एउटै दिशामा छन्,” भन्दै विकास केवल कागजमा सीमित नहुने, प्रत्यक्ष अनुभूत हुने परिणाममुखी हुने दाबी गरे।
उनले वडा–वडामा जनतासँग नियमित संवाद, विकास योजनाको निरन्तर अनुगमन र जनप्रतिनिधिलाई जवाफदेही बनाउने प्रणाली स्थापना गर्ने योजना पनि सार्वजनिक गरे।
साक्षात्कारपछि स्थानीय बासिन्दाहरूले आफ्ना मुद्दा खुलेर राख्न पाएकोमा सन्तुष्टि व्यक्त गर्दै, अब जनताको आवाज सुन्ने र त्यसलाई काममा रूपान्तरण गर्ने नेतृत्व आवश्यक भएको प्रतिक्रिया दिए।