ट्रेन्डिङ

ऐलानी जग्गा विवादमा सिरहामा एकजनाको मृत्यु, दुई घण्टापछि खुल्यो पूर्व–पश्चिम राजमार्ग

सिरहा । ऐलानी जग्गाको विषयमा उत्पन्न विवाद सिरहामा एकजनाको ज्यान जाने गरी उग्र बनेको छ ।

कर्जन्हा नगरपालिका–१० स्थित सार्वजनिक जग्गाको बाटोमा बनाइएको संरचना हटाउने क्रममा भएको झडपमा एक व्यक्तिको मृत्यु भएपछि केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

मृत्यु हुनेमा सोही स्थानका करिब ५० वर्षीय अजमोदिन सेख रहेको सिरहा प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गरे पनि प्रहरी र प्रशासनको पहलमा करिब दुई घण्टापछि राजमार्ग सञ्चालनमा आएको छ ।

सिरहाका प्रहरी प्रमुख (एसपी) बासुदेव पाठकका अनुसार स्थानीय अख्तर सेख ले सार्वजनिक बाटोमा घर बनाइरहेका थिए ।

उक्त जग्गा ऐलानी रहेको भन्दै अदालतमा रिट दायर गरिएको थियो ।

अदालतले सार्वजनिक जग्गामा कुनै पनि संरचना निर्माण नगर्न आदेश दिएपछि सो आदेश कार्यान्वयन गराउन प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीको उपस्थितिमा संरचना हटाउने काम सम्पन्न भइसकेपछि दुई पक्षबीच विवाद चर्किएको र सोही क्रममा भएको धकेलाधकेलमा अजमोदिन सेख घाइते भएका थिए ।

उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सार्वजनिक जग्गाको संरचना हटाउने सहमति भए पनि अख्तर सेखले संरचना नहटाएपछि विवाद चर्किएको हो ।

पछाडिको जग्गाका धनी राम भरोसी महतो ले प्रहरीसँग गुहार मागेपछि आज संरचना हटाउने प्रक्रिया अघि बढाइएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

प्रहरी, स्थानीय प्रशासन र दुवै पक्षबीच भएको छलफलपछि अवस्था सामान्य बन्दै गएपछि करिब दुई घण्टापछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको एसपी पाठकले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शान्ति सुरक्षाका लागि त्यस क्षेत्रमा प्रहरी परिचालन बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै