जनकपुर । आइतबार सम्पन्न मधेस प्रदेशतर्फको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले चारै सिटमा विजय हासिल गरेको छ ।
आज सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार महिलातर्फ एमाले, अल्पसंख्यक र दलिततर्फ कांग्रेस तथा अन्य समूहमा जसपाका उम्मेदवार विजयी भएका हुन् ।
महिलातर्फ नेकपा (एमाले) की रेखा झा ७ हजार २२२ मतसहित निर्वाचित भइन् ।
उनकी निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की शमी कुमारी अग्रवालले १ हजार ९४४ मत ल्याइन् भने जसपाकी चन्द्रकला देवी साहले ३२२ मत प्राप्त गरिन् । यस समूहमा ३५७ मत बदर भएको छ ।
अल्पसंख्यक समूहमा नेपाली कांग्रेसका रञ्जित कर्ण ले ८ हजार ९३ मत प्राप्त गर्दै फराकिलो मतान्तरका साथ जित निकाले ।
नेकपाका रामनन्दन प्रसादले १ हजार ३६१ मत र जसपाका शैलेश कुमार चौधरीले २७७ मत पाए । ११४ मत बदर भएको छ ।
दलित समूहमा कांग्रेसका धर्मेन्द्र पासवान ७ हजार ९०४ मतसहित विजयी भए ।
उनका प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले १ हजार ३७६ मत ल्याए भने जसपाकी चमेली देवी दासले २०९ मत प्राप्त गरिन् ।
यस समूहमा १८६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अन्य समूहअन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर ७ हजार ७२५ मतसहित राष्ट्रिय सभामा प्रवेश गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मत प्राप्त गरे । यहाँ ३१५ मत बदर भएको छ ।
यो परिणामसँगै मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले पूर्ण वर्चस्व कायम गरेको छ ।