वीरगन्ज । फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाबाट चारजना पूर्वमन्त्रीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका फरकफरक निर्वाचन क्षेत्रबाट चार जना पूर्वमन्त्रीहरुले उम्मेदवारी दर्ता गराएपछि यहाँ चुनावी प्रतिस्पर्धा थप रोच बनेको छ ।
पूर्वमन्त्रीहरु प्रदीप यादव, सुरेन्द्र चौधरी, अजय चौरसिया र रमेश रिजाल अहिले चुनावी मैदानमा छन्, जसकारण पर्सामा चुनावी माहोल तातिएको छ । भने मतदाताको ध्यान समेत तीव्र रूपमा केन्द्रित भएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तर्फबाट प्रदीप यादवले उम्मेदवारी दर्ता गराएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी उनी दुई दिन अघि मात्र अर्थात् सोमबार राती नेकपा एमाले प्रवेश गरेका थिए ।
०७९ सालमा पहिलो पटक वनमन्त्री बनेका यादव पछिल्लो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदै खानेपानीमन्त्री समेत बनेका थिए ।
यता पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसबाट पूर्वमन्त्री अजय कुमार चौरसियाले उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानूनमन्त्री थिए ।
त्यसैगरी पर्सा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसकै तर्फबाट पूर्वमन्त्री सुरेन्द्र चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनले विज्ञान तथा प्रविधि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
उता पर्साकै निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका पूर्वमन्त्री रमेश रिजालले पनि मनोनयन दर्ता गराएका छन् । उनी ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योग तथा वाणिज्य मन्त्रालय सम्हालेका थिए ।