काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको नेतृत्वमा महत्वपूर्ण परिवर्तन गरेको छ ।
बुधबार साँझ काठमाडौँमा सम्पन्न महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा चयन भएका छन् ।
पार्टी विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूको ५४ प्रतिशत समर्थनसहित आह्वान गरिएको विशेष महाधिवेशनले थापालाई नयाँ नेतृत्वको जिम्मेवारी सुम्पिएको हो ।
महाधिवेशनले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व संरचनालाई पुनः परिभाषित गरेको नेताहरूले बताएका छन् ।
नवनिर्वाचित कार्यसमितिमा उपसभापतिको जिम्मेवारी विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई दिइएको छ ।
त्यस्तै, महामन्त्रीका रूपमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
समावेशी सिद्धान्तअनुसार सहमहामन्त्री पदमा विभिन्न समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
खस–आर्य समूहबाट उदयशमशेर राणा, दलित समूहबाट प्रकाश रसाइली ‘स्नेही’, मधेशी समूहबाट मुक्ताकुमारी यादव तथा महिला समूहबाट डिला सङ्ग्रौला चयन भएका छन् ।
यसैगरी मुस्लिम समुदायबाट फरमुल्ला मन्सुर, थारु समुदायबाट योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा र आदिवासी जनजाति समूहबाट बहादुरसिंह लामा सहमहामन्त्रीका रूपमा निर्वाचित भएका छन् ।