काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका दुई महामन्त्रीबीच भएको उच्चस्तरीय छलफल कुनै ठोस निष्कर्षबिना टुंगिएको छ ।
देउवा निवासमा बुधबार बिहान भएको भेटमा पार्टीभित्र जारी विवाद समाधान गर्ने प्रयास भए पनि सहमति जुट्न सकेन ।
यसअघि भएका वार्ताहरू परिणामविहीन भएपछि सभापति देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पुनः छलफलका लागि बोलाएका थिए ।
करिब ४५ मिनेट चलेको संवादमा पार्टी नेतृत्व र सभापतिको भूमिकाबारे गम्भीर छलफल भएको नेताहरूले बताएका छन् ।
भेटका क्रममा महामन्त्रीद्वयले सभापति देउवाको पछिल्लो सक्रियताप्रति प्रश्न उठाएका थिए ।
२८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा देखिएको भूमिकाले देउवाको सम्मान बढेको भन्दै त्यसपछि पुनः सक्रिय राजनीतिमा फर्किनुले सकारात्मक सन्देश नदिने तर्क उनीहरूले राखेको बताइएको छ ।
महामन्त्रीहरूले देउवालाई निष्क्रिय भूमिकामै सीमित रहन सुझावसमेत दिएका छन् ।
तर, ती विषयमा सभापतिसँग स्पष्ट सहमति बन्न नसकेपछि छलफल बिना निष्कर्ष टुंगिएको हो ।
स्रोतका अनुसार देउवासँगको भेटबाट ठोस निर्णय ननिस्किएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई औपचारिक जानकारी गराउँदै पार्टीको निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा जुटेका छन् ।
कांग्रेसभित्र नेतृत्व र निर्णय प्रक्रियालाई लिएर देखिएको मतभेद तत्काल समाधान हुने संकेत नदेखिएको नेताहरूको भनाइ छ ।