ट्रेन्डिङ

राजनीतिमा अचानक आकर्षण किन बढ्दैछ ?

शिवनाथ यादव,
पत्रकार

वीरगन्ज । भदौ २३ र २४ गतेका आन्दोलनपछि नेपालको राजनीति असामान्य गतिमा अघि बढिरहेको छ।

सडकमा देखिएको आक्रोश र व्यवस्थाप्रतिको असन्तुष्टिले केवल विरोध मात्र जन्माएन, यसले राजनीतिमा सक्रिय रूपमा होमिनेहरूको संख्या पनि तीव्र रूपमा बढायो।

पछिल्ला केही महिनामा देखिएको यो प्रवृत्तिको सबैभन्दा बलियो संकेत निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूको अस्वाभाविक वृद्धि हो।

२०७९ सालको आम निर्वाचनमा ८६ वटा राजनीतिक दल दर्ता थिए। तीमध्ये ६१ वटा दल मात्र चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

तर आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म १२० वटा राजनीतिक दल दर्ता भइसकेका छन्।

छोटो अवधिमै भएको यो वृद्धिले नेपाली राजनीतिमा गहिरो असन्तोष र नयाँ विकल्पको खोजी दुवैलाई एकसाथ उजागर गरेको छ।

केही वर्षअघिसम्म युवामाझ राजनीति आलोचनाको विषय थियो।

सामाजिक सञ्जालमा नेताहरूको मजाक उडाउने र राजनीतिलाई ‘फोहोरी खेल’ भन्ने धारणा व्यापक थियो।

तर अहिले उही पुस्ता दल खोल्ने, नेतृत्व सम्हाल्ने र चुनाव लड्ने तयारीमा देखिएको छ।

२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका केही अनुहार यसपटक भने आफ्नै दलसहित मैदानमा उत्रिँदैछन्।

यसले देखाउँछ—असन्तोष अब विरोधमै सीमित छैन, सत्ता र निर्णय प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गर्ने दिशामा अघि बढिरहेको छ।

राजनीतिक यात्रामा लाग्नेहरूको दायरा पनि फराकिलो बन्दै गएको छ।

पूर्वकर्मचारी, पूर्वप्रहरी, पत्रकार, कलाकार, सामाजिक अभियन्ता, हास्यकलाकारदेखि गायक–नायिकासम्म राजनीतिमा प्रवेश गरेका छन्।

कोही समानुपातिक सूचीमा अटाएका छन्, कोही प्रत्यक्ष निर्वाचनको तयारीमा छन्।

कतिपय छोटो समयमै शक्तिको केन्द्र नजिक पुगिसकेका छन्।

यसले राजनीति केवल विचारको संघर्ष नभई सामाजिक उन्नति र प्रभाव विस्तारको माध्यमका रूपमा हेरिन थालेको संकेत गर्छ।

‘बिना पार्टी केही हुँदैन’ भन्ने यथार्थ

पर्सा बहुदरमाई नगरपालिकाका शिवसरण साह भन्छन्, “सामान्य कामका लागि पनि पार्टीको पहुँच चाहिन्छ।

विधि अनुसार जाँदा समय लाग्छ, तर नेताको सिफारिस भयो भने काम तुरुन्तै हुन्छ।”

उनको भनाइले राज्य संयन्त्रमा जरो गाडेको पहुँच–आधारित संस्कारलाई उजागर गर्छ। यस्तो संरचनामा राजनीतिबाट टाढा बस्नु असहज बन्दै गएको अनुभूति धेरै नागरिकमा देखिन्छ।

विलासिताले बढाएको आकर्षण

युवालाई राजनीतितर्फ तान्ने अर्को कारण नेताहरूको जीवनशैली पनि हो।

स्पष्ट आम्दानी स्रोत नदेखिए पनि सुविधासम्पन्न जीवन, हैसियत र शक्ति देख्दा राजनीति सेवाभन्दा बढी अवसरको क्षेत्रझैँ देखिन थालेको छ।

श्रम र सीपबाट सुरक्षित भविष्य देख्न नसक्दा राजनीति युवाका लागि छोटो बाटोझैँ लाग्न थालेको विश्लेषण गरिन्छ।

जनता अझै अन्योलमा

दलहरूको संख्या बढे पनि जनविश्वास भने बढ्न सकेको छैन।

विगतमा ‘नयाँ शक्ति’को नाममा आएका धेरै दल पुरानै प्रवृत्तिमा अल्झिएका उदाहरण जनतासामु छन्।

अहिले खुलेका नयाँ दलहरूमा पनि उही अनुहार र उही सोच दोहोरिन थालेपछि आम मतदातामा आशाभन्दा शंका गहिरिँदै गएको छ।

संख्याभन्दा गुणस्तरको प्रश्न

राजनीतिमा देखिएको यो लहर लोकतन्त्रका लागि अवसर पनि हुन सक्छ।

तर यदि यो केवल शक्ति, पहुँच र लाभको दौडमा सीमित रह्यो भने जनताको निराशा झन् गहिरो बन्नेछ।

८६ बाट १२० दल पुग्नु आफैंमा ठूलो परिवर्तन होइन, परिवर्तन तब मात्र हुन्छ जब राजनीति व्यवहारमा इमानदार, जवाफदेही र परिणाममुखी बन्छ।

अब चुनौती जनताको होइन, राजनीति रोज्नेहरूको काँधमा छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै