सिरहा । भारतबाट नेपालतर्फ भित्रिँदै गरेको मोटरसाइकल चेकजाँचका क्रममा सिरहा प्रहरीले ३९.९० ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय श्रवणकुमार कामैत रहेका छन्।
शनिबार नवराजपुर गाउँपालिका वडा नम्बर–५ स्थित झाझपट्टी सडक खण्डमा नियमित चेकजाँच भइरहेको बेला शङ्कास्पद देखिएको प्र.२–०१–००२ प १६०८ नम्बरको मोटरसाइकल प्रहरीले रोकेको थियो।
तलासीका क्रममा कामैतले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको लागुऔषध फेला परेको हो।
इलाका प्रहरी कार्यालय महेशपुरपतार र इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको संयुक्त प्रहरी टोलीले गरेको खानतलासीमा उनको ज्याकेटको खल्तीभित्र स्टिलको बट्टामा लुकाइ राखिएको अवस्थामा बट्टाबाहेक ३९.९० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका कामैतविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।