जनकपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा जिल्लामा ४ हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले चारवटै निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँगको समन्वयमा आवेदन प्रक्रिया सुरु गरेको जनाएको छ।
सूचनाअनुसार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले निर्वाचन प्रहरी पदका लागि आवेदन दिन सक्नेछन्।
आवेदन बुझाउने अन्तिम मिति आगामी माघ १ गते तोकिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नियुक्त निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिनसम्म रहनेछ वा नेपाल सरकारले तोकेको अवधिअनुसार हुनेछ।
सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिकस्वरूप कुल ३४ हजार ७७६ रुपैयाँ उपलब्ध गराइनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले निर्वाचन प्रहरीलाई सो पारिश्रमिकका अतिरिक्त सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने जानकारी दिए।
दाहालद्वारा हस्ताक्षरित सूचनामा प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने उल्लेख छ।
धनुषा जिल्लामा हाल ४ लाख १४ हजार ५७१ मतदाता रहेका छन्।
चार निर्वाचन क्षेत्रमा ३२२ मतदानस्थल र ६४५ मतदान केन्द्र निर्माण भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रशासनले निर्वाचन प्रक्रियामा संलग्न सबै पक्ष तथा मतदातालाई संयमित र नियमअनुसार सहभागी हुन आग्रह गरेको छ।