ट्रेन्डिङ

मधेस सरकारका प्रवक्तामा स्वास्थ्यमन्त्री राय, तीन उच्चस्तरीय समिति गठन

जनकपुर । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले सरकारका प्रवक्ता तोक्नुका साथै प्रदेशस्तरीय समस्या समाधानका लागि तीन उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सम्पन्न बैठकले स्वास्थ्यमन्त्री जंगीलाल रायलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

बैठकपछि कृषिमन्त्री श्याम पटेलले जानकारी दिँदै प्रवक्ता नियुक्तिसँगै विभिन्न विषयगत समितिहरू गठन गरिएको बताए।

सरकारले प्रदेशमा देखिने राजनीतिक, प्रशासनिक, कानुनी तथा आर्थिक–सामाजिक समस्याहरूको अध्ययन र समाधानका लागि तीन समिति गठन गरेको छ।

राजनीति तथा प्रशासन समितिको संयोजकमा कृषिमन्त्री श्याम पटेललाई तोकिएको छ। यस समितिमा मन्त्रीद्वय वसन्त कुशवाह र कनिश पटेल सदस्य रहेका छन्।

कानुन, न्याय तथा मामिला समितिको संयोजकको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्री मनिष सुमनलाई दिइएको छ।

उक्त समितिमा मन्त्रीद्वय फकिरा महतो र शंकर चौधरी सदस्य छन्।

त्यसैगरी आर्थिक तथा सामाजिक समितिको संयोजकमा अर्थमन्त्री महेश यादवलाई जिम्मेवारी तोकिएको छ।

समितिका सदस्यमा मन्त्रीद्वय राजकुमार गुप्ता र रानी शर्मा रहेका छन्।

सरकारले यी समितिहरूमार्फत प्रदेशस्तरीय समस्या पहिचान, समन्वय र समाधानलाई थप प्रभावकारी बनाउने अपेक्षा लिएको जनाइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै