काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि बनेको नयाँ राजनीतिक तालमेलअन्तर्गत जनता समाजवादी पार्टी (जसपा) नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेसँगको सहमतिपछि जसपा नेपालले ठाकुरलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको हो ।
तीन दलबीच भएको समझदारीअनुसार राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपाल संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
सो तालमेलमा जसपा नेपालले एक सिट पाउने सहमति बनेको छ, जसका लागि पार्टीले वरिष्ठ नेता महन्थ ठाकुरलाई उम्मेदवार चयन गरेको नेताहरूले बताएका छन् ।
राजनीतिक वार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकका अनुसार सुरुमा नेकपासहित व्यापक तालमेलको प्रयास भए पनि सहमति नजुट्दा नेकपा बाहिरिएको हो ।
त्यसपछि कांग्रेस–एमाले–जसपा नेपालबीच मात्रै तालमेल टुंगिएको उनले जानकारी दिए ।
सहमति अनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले १ सिट लिनेछ । साथै, उम्मेदवारी क्लस्टरसमेत टुंगिसकेको बताइएको छ ।
जसपा नेपालबाट महन्थ ठाकुरको उम्मेदवारीलाई मधेस केन्द्रित राजनीति र राष्ट्रिय राजनीतिक सन्तुलनका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।
लामो समयदेखि मधेस आन्दोलन र संघीय राजनीतिमा सक्रिय ठाकुरको राष्ट्रियसभामा प्रवेशले सदनमा मधेसको आवाज थप मजबुत हुने जसपा नेताहरूको दाबी छ ।