वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू गरिएको कर्फ्यु आदेश पुनः लम्ब्याइएको छ।
शान्ति सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधि थप गरेको हो।
जिल्ला प्रशासनले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार यसअघि आज दिउँसो १ बजेसम्मका लागि लागू कर्फ्यु आदेशलाई निरन्तरता दिँदै बेलुका ६ बजेसम्म कायम गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण तथा सार्वजनिक सुरक्षा सुनिश्चित गर्न कर्फ्यु अवधि बढाउनुपरेको हो।
यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्म कर्फ्यु लागू गरिएको थियो।
तर अवस्था सहज नदेखिएपछि प्रशासनले समय थप गर्दै कडाइ कायम राखेको जनाएको छ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठकलगायत कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश उल्लङ्घन गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सबैलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
प्रशासनका अनुसार कर्फ्यु क्षेत्र वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट तथा उत्तरतर्फ गण्डक चोकसम्म तोकिएको छ।
