ट्रेन्डिङ

वीरगन्जको विवादबारे पूर्वमन्त्री प्रदीप यादवको अपील : भड्काउने गतिविधिमा नफस्न र शान्ति कायम राख्न आग्रह

वीरगन्ज । पूर्वमन्त्री प्रदीप यादवले वीरगन्जमा उत्पन्न समुदायबीचको विवादप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै शान्ति, सद्भाव र संयम अपनाउन सबै वीरगन्जवासीसँग अपील गरेका छन्।

मंगलबार सार्वजनिक अपील जारी गर्दै यादवले आफू केवल पूर्वमन्त्री मात्र नभई यही माटोमा जन्मिएको जिम्मेवार वीरगन्जवासीको हैसियतले बोलिरहेको उल्लेख गरेका छन्।

उनले वीरगन्ज सधैँदेखि हिन्दू–मुस्लिम आपसी भाइचारा, सहअस्तित्व र सद्भावको उदाहरणीय सहर रहँदै आएको भन्दै केही भ्रम, अफवाह र उक्साहटका कारण सामाजिक तनाव सिर्जना गर्ने प्रयास भइरहेको प्रति चिन्ता व्यक्त गरे।

पूर्वमन्त्री यादवले कुनै पनि भड्काउने कुरामा नफस्न, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने गलत सूचनाप्रति सजग रहन सबैलाई आग्रह गरे।

“शान्ति भंग हुने गतिविधि न त हाम्रो सहरको हितमा छ, न समाज र भावी पुस्ताका लागि,” उनले भनेका छन्।

धर्म, जात वा समुदायभन्दा माथि उठेर आपसी सम्मान र संयम कायम गर्नुपर्नेमा जोड दिँदै यादवले शान्ति स्थापनाको जिम्मेवारी केवल प्रशासनको मात्र नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरे।

उनले वीरगन्जलाई शान्ति र सद्भावको सहरका रूपमा जोगाउन सबै मिलेर एकताको सन्देश फैलाउन आग्रह गरेका छन्।

यादवले समाजमा द्वन्द्व सिर्जना गर्ने व्यक्ति जहाँसुकैका भए पनि तिनको पहिचान गरी कानुनको दायरामा ल्याउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रहसमेत गरेका छन्।

साथै, नेपाल सरकारले संवाद, सद्भाव र शान्ति स्थापनाका लागि गर्ने प्रत्येक प्रयासमा आफू सधैँ सहयोग र समर्थनका लागि तत्पर रहने प्रतिबद्धता पनि उनले सार्वजनिक गरेका छन्।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै