ट्रेन्डिङ

वीरगन्जको तनाव कम गर्न सिडिओ दाहालले बोलाए सर्वदलीय बैठक

वीरगन्ज । फरक समुदायबीच उत्पन्न विवादका कारण तनावग्रस्त बनेको वीरगन्जको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले सक्रिय पहल थालेको छ।

सोमबारदेखि उग्र बन्दै गएको परिस्थितिलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लास्थित राजनीतिक दलहरूसँग छलफल तथा विमर्श सुरु गरेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार आज बिहान साढे ८ बजेदेखि सिडिओ दाहालले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई कार्यालयमा बोलाई सम्वाद थालेका हुन्।

शहरको शान्ति सुरक्षा पुनःस्थापना र जनजीवनलाई पुरानै लयमा फर्काउने विषयमा केन्द्रित रहेर छलफल चलिरहेको प्रशासनले जनाएको छ।

छलफलमा जिल्लाका अधिकांश राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

प्रशासनले राजनीतिक दलहरूसँगको सहकार्य र समन्वयबाट समस्या समाधानको बाटो खोजिरहेको बताइएको छ।

वीरगन्जमा सोमबारदेखि हिन्दु धर्मका देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै हिन्दुवादी सङ्गठनहरूले प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको थियो।

स्थिति प्रशासनको नियन्त्रण बाहिर जान थालेपछि सुरुमा निषेधाज्ञा जारी गरिएको थियो भने पछि साँझ ६ बजेदेखि कर्फ्यु लागू गरिएको थियो।

हाल कर्फ्यु आज दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको छ।

प्रशासनले अवस्था अनुकूल भएमा थप निर्णय गरिने जनाउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै