वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको जनाउँदै कर्फ्यु अवधि आज दिउँसो १ बजेसम्मका लागि निरन्तरता दिएको हो ।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यु कायम राखिएको हो ।
यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि किसिमका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन जिल्ला प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कर्फ्यु आदेश उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कदम चालिने स्पष्ट गरिएको छ ।
आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
वीरगन्ज महानगरको पूर्वमा बसपार्क , नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उतरमा गण्डक चोकसम्म कर्फ्यु लगाइएको छ ।
यद्यपी, निर्धारित परीक्षाका परीक्षार्थीहरुले भने आफ्नो परिचयपत्र प्रशासनलाइ देखाएर जान सक्ने व्यस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
