वीरगन्ज । पर्सा प्रहरीले आइतबार जिल्लामा सम्पन्न मुस्लिम समुदायको विरोध प्रदर्शनबारे सञ्चारमाध्यममा सम्प्रेषण भएका केही अतिरञ्जित र भ्रमित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज एक विज्ञप्ति जारी गर्दै ती समाचारहरू पर्सा प्रहरी कार्यालयको आधिकारिक धारणा नभएको स्पष्ट पारेको हो ।
हिजोका विरोध प्रदर्शनका क्रममा प्रहरीले कानुन बमोजिम गर्नुपर्ने दायित्व पूरा गरेको र कुनै पनि सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति नोक्सानी नपुगेको जानकारी दिएको छ ।
विज्ञप्तिमा केही सञ्चारमाध्यममार्फत प्रसारित समाचारमा वास्तविकताभन्दा फरक ढंगले विषयवस्तु प्रस्तुत गरिएको भन्दै त्यसले भ्रम सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ ।
यस्ता भ्रामक समाचारप्रति सचेत रहन जिल्ला प्रहरी कार्यालय पर्साले सबैलाई आग्रह गरेको छ ।
प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजु कार्कीद्धारा जारी विज्ञप्तिमा शान्ति सुरक्षाप्रति प्रहरी प्रतिबद्ध रहेको र तथ्यमा आधारित सूचनामात्रै प्रकाशन प्रसारण गर्न सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ ।
