ट्रेन्डिङ

धार्मिक सद्भाव बिगार्नेमाथि कडा निगरानी, उल्लंघन गरे कानुनी कारबाही : पर्साका सिडिओ दाहाल

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा धर्म, जाति वा समुदायबीच द्वेष फैलाउने खालका गतिविधि बढ्दै गएको भन्दै यस्ता कार्य तत्काल रोक्न आग्रह गरिएको छ।

विज्ञप्तिमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कमजोर बनाउने सामग्री सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण नगर्न स्पष्ट अपील गरिएको छ।

प्रशासनका अनुसार फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत प्लेटफर्ममा धर्म वा समुदाय लक्षित घृणात्मक अभिव्यक्ति, अपमानजनक सामग्री तथा अफवाह फैलाउने कार्य प्रचलित कानुन विपरीत हो।

यस्ता गतिविधिहरूलाई जिल्ला प्रशासनले सूक्ष्म रूपमा निगरानी गरिरहेको जनाउँदै संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

विज्ञप्तिमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत धर्मसम्बन्धी कसुर र धार्मिक भावनामा आघात पुर्‍याउने कार्यसम्बन्धी व्यवस्था तथा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ का प्रावधानहरू स्मरण गराइएको छ। धार्मिक स्थल, पवित्र स्थान वा सार्वजनिक नैतिकता र सद्भावमा असर पुर्‍याउने सामग्री प्रकाशन तथा प्रसारण गर्नेलाई कैद र जरिवानासम्मको सजाय हुने कानुनी व्यवस्था रहेको प्रशासनले उल्लेख गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र मर्यादित व्यवहार गर्न, असत्य तथा उत्तेजक सामग्री शेयर नगर्न र समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम गर्न नागरिक, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको सक्रिय सहकार्य आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै