वीरगन्ज । नेकपा एमाले बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी सिफारिसमा सहमति नजुट्दा आन्तरिक मतदान गरिएको छ ।
आगामी फागुनमा हुने चुनावमा प्रतिनिधि सभा सदस्य पदका लागि आपसी छलफलबाट उम्मेदवार सिफारिस गर्न सहमति जुट्न नसकेपछि आन्तरिक मतदान गरिएको हो ।
उम्मेदवारी सिफारिस टुंगो लगाउन क्षेत्रीय कमिटीको बैठकमा भएको मतदानमा कुल ६४ जना मतदाताले सहभागिता जनाएका थिए । जसअनुसार जिल्ला अध्यक्षसमेत रहेका अध्यनन्द पाण्डेले सर्वाधिक मत प्राप्त गरेका छन् । अर्थात् उनले सबैभन्दा बढी ४६ मत पाएका हुन् ।
त्यस्तै, एम. समिउल्लाहले ३७ मत ल्याउंदै दोस्रो स्थान हासिल गर्दा सीमा ठकुरीले ३६ मत पाएर तेस्रो भएकी छन् ।
आन्तरिक मतदानको परिणाम अनुसार निवर्तमान सांसद तथा पूर्व मन्त्री ज्वाला साहले भने जम्मा ४ मत मात्र प्राप्त गरेकी छन् । उनले पाएको मतपरिणाम अनुसार पूर्वमन्त्री साह हारेकी मात्रै छैनन् ‘आउट नै भएकी छन् ।
यस्तै सीता सुवेदीले १ मत पाउँदा टिना सुवेदीले कुनै पनि मत प्राप्त गर्न नसकेको बताइएको छ।
पार्टीभित्र उम्मेदवार सिफारिसका विषयमा लामो समयदेखि छलफल हुँदै आए पनि सहमति नजुटेपछि लोकतान्त्रिक विधिअनुसार मतदान प्रक्रिया अपनाइएको एमाले नेताहरू बताँउछन् ।
मतदानबाट प्राप्त नतिजा पार्टीको केन्द्रीय कमिटीमा पठाइने र अन्तिम निर्णय केन्द्रबाट हुने जनाइएको छ।