ट्रेन्डिङ

मानव सेवा आश्रम वीरगन्जको वार्षिकोत्सवमा मन्त्री पटेलले भने – आश्रमको दीर्घकालीन विकासका लागि प्रदेश सरकारले सहयोग गर्नेछ

वीरगन्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले गरिरहेको सेवा भगवानको सेवासरह रहेको बताएका छन्।

मानव सेवा आश्रम वीरगन्ज शाखाको ८औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री पटेलले अलपत्र परेका बालबालिकादेखि असक्त ज्येष्ठ नागरिकसम्मलाई आश्रय, पालनपोषण र सेवा प्रदान गर्नु इश्वररुपी कार्य भएको उल्लेख गरे।

“मानव सेवा आश्रमले भगवानले गर्ने जस्तै काम गरिरहेको छ, यस्ता मानवतामूलक सेवा समाजका लागि अत्यन्तै आवश्यक र सराहनीय छन्,” मन्त्री पटेलले भने।

मानवताका लागि महत्वपूर्ण योगदान दिइरहे पनि मानव सेवा आश्रमले सरकारी निकायबाट अपेक्षित सहयोग नपाएकोप्रति दुख व्यक्त गर्दै उनले आफू प्रदेश सरकारमा रहँदा आश्रमको दीर्घकालीन विकासका लागि भवन निर्माणमा सहयोग गराउने प्रतिबद्धता जनाए।

“प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्छु,” उनले भने, “तर सरकारको मात्र होइन, समाजका सबै नागरिकले आ–आफ्नो स्थानबाट यस्ता संस्थालाई सहयोग गर्नु आवश्यक छ।”

कार्यक्रममा सहभागी वक्ताहरूले विगत आठ वर्षदेखि निरन्तर रूपमा मानवताको सेवामा समर्पित मानव सेवा आश्रमले समाजका असहाय, बेसहारा तथा कमजोर वर्गका नागरिकका लागि पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे।

मानव सेवा आश्रम वीरगन्ज शाखाले हाल सडक मानव, असहाय बालबालिका तथा असक्त ज्येष्ठ नागरिकको संरक्षण, उपचार तथा पुनर्स्थापनाको कार्य गर्दै आएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै