ट्रेन्डिङ

माओवादी छाडेर रास्वपामा टेक बहादुर शाक्य, पर्सा–४ बाट उम्मेदवारी घोषणा

वीरगन्ज। तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

रास्वपा पर्साका सभापति हरी पन्तले आज आयोजित एक विशेष कार्यक्रममा शाक्यलाई पार्टी प्रवेश गराएका हुन्।

विगत केही वर्षदेखि सक्रिय राजनीतिबाट टाढा रहेका शाक्यले मुलुकको समग्र राजनीति नै विकृत बन्दै गएको महसुसका कारण आफू निष्क्रिय बनेको बताए।

तर भदौ २३ र २४ को ‘जेंजी विद्रोह’पश्चात् देशमा नयाँ राजनीतिक आशा पलाएको भन्दै उनले पुनः राजनीतिमा सक्रिय हुने निर्णय गरेको स्पष्ट पारे।

सोही विश्वासका साथ आफू राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिक यात्रामा फर्किएको उनको भनाइ थियो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै शाक्यले आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा समेत गरे।

उनले वैकल्पिक राजनीति र सुशासनको एजेन्डालाई जनतासम्म पुर्‍याउन रास्वपाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

रास्वपा पर्सा सभापति पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दन यादव र क्षेत्रीय सभापति जितेन्द्र मिश्रले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण सुदिस प्रजापतिले गरेका थिए।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै