जनकपुर । मन्त्रालयको भागबन्डा टुंग्याउने प्रयासका बीच मधेस प्रदेश सरकारका सत्तारुढ दलहरूको बैठक आज बिहानदेखि जारी छ ।
सरकार गठन भएको २५ औँ दिनमा पनि मन्त्रीपरिषद् पूर्णता नपाउँदा बढ्दो आलोचनाका बीच सत्तारुढ दलहरू फेरि सहमतिमा पुग्ने प्रयासमा जुटेका हुन् ।
मुख्यमन्त्री कृष्णा यादव नेतृत्वको सरकार ६ दलीय समर्थनमा मंसिर १९ गते गठन भएको हो ।
तर झण्डै एक महिना पुग्न लाग्दा पनि सरकार अझै अपूर्ण अवस्थामै रहेको छ ।
प्रदेश सरकारमा रहेका ११ मन्त्रालयमध्ये हालसम्म ५ जना मात्र मन्त्री नियुक्त छन् भने ६ वटा मन्त्रालय मन्त्रीविहीन छन् ।
मन्त्रालय भागबन्डामा सहमति नजुट्दा सरकार विस्तार निरन्तर अन्योलमा परेको छ ।
सरकारमा सहभागी दलका नेताहरूका अनुसार सबै दलले आफ्नो भागमा बढी मन्त्रालयको दाबी गरेपछि विवाद चुलिएको हो ।
यसअघि बसेको सत्तारुढ दलहरूको बैठक पनि यही कारण निष्कर्षविहीन बनेको थियो ।
जसपा नेपालका संसदीय दलका नेता सरोज यादवका अनुसार आज बिहानदेखि सत्तारुढ दलहरूको बैठक चलिरहेको छ ।
‘सम्भवतः आज मन्त्रालयको भागबन्डाबारे टुंगो लाग्न सक्छ,’ उनले बताए ।
सरकार गठन भएको २५ दिन बितिसक्दा पनि नेतृत्व आन्तरिक भागबन्डामै अल्झिँदा जनतामा निराशा बढ्दै गएको छ ।
बेरोजगारी, महँगी, शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता ज्वलन्त मुद्दामा सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप लाग्दै आएको छ ।
राजनीतिक वृत्तमा यादव नेतृत्वको सरकार ‘कछुवा गतिमा’ अघि बढिरहेको टिप्पणी व्यापक छ ।
विश्लेषकहरूका अनुसार आजको बैठकबाट पनि ठोस निष्कर्ष ननिस्किए मधेस प्रदेश सरकारको विश्वसनीयतामाथि थप प्रश्न उठ्नेछ ।