ट्रेन्डिङ

रवि र बालेनबिच के-के भयो ७ बुँदे सहमति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् राजनीतिक एकता’ गर्ने औपचारिक सहमति भएको छ।

आज बिहान भएको सहमतिमा रास्वपा सभापति रवि लामिछाने र मेयर शाहले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

सहमति अनुसार रास्वपाको केन्द्रीय सभापतिको जिम्मेवारी रवि लामिछानेले नै सम्हाल्नेछन्।

तर, आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने भएको छ।

दुवै पक्षले सामाजिक न्यायमा आधारित उदार अर्थतन्त्रसहितको बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन स्थापित गर्ने साझा प्रतिबद्धता जनाएका छन्।

सहमतिमा भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले उठाएका आन्दोलनका आवाजलाई संस्थागत रूपमा अघि बढाउने उल्लेख छ।

विशेषगरी भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनलगायत विभिन्न चरणका जनआन्दोलनबाट उठेका माग र अपेक्षालाई राजनीतिक एजेन्डामा रूपान्तरण गर्ने सहमति गरिएको छ।

बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ र व्यापक बनाइने जनाइएको छ।

त्यसक्रममा योग्य, समावेशी, स्वच्छ छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई नेतृत्व र जिम्मेवारी दिइने सहमतिमा उल्लेख छ।

यसैगरी, रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’लाई केन्द्रमा राख्दै अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग सहकार्यका लागि खुला आह्वान गर्ने निर्णय पनि गरिएको छ।

रास्वपा र बालेन्द्र शाहबीच सहकार्य र एकताका विषयमा लामो समयदेखि संवाद हुँदै आएको थियो। गत साता सोमबारदेखि दुवै नेताबीच निरन्तर भेटघाट र छलफल भएको थियो।

औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिकोण, नेतृत्व मोडेल र भावी कार्यदिशामा गहिरो छलफल भएपछि अन्ततः यो राजनीतिक सहमति सम्भव भएको बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै