जनकपुर । मधेशका दुई राजनीतिक शक्तिबीच कार्यगत एकताको घोषणा भएको छ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र स्वाधीन मधेश जनअभियानबीच संयुक्त संघर्ष अघि बढाउने सहमतिसहित कार्यगत एकता कायम भएको हो।
आज जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा दुबै पक्षले सहमतिका बुँदाहरू सार्वजनिक गर्दै मधेश केन्द्रित राजनीतिक एजेन्डामा संयुक्तरूपमा अघि बढ्ने निर्णय गरेका छन्।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा संयुक्त हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दुबै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापना गर्न संयुक्त संघर्ष गर्ने सहमति गरेका छन्।
स्थानीय तहलाई विकास निर्माणको मुख्य आधारका रूपमा सुदृढ गर्दै दलविहीन निर्वाचन प्रणालीको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।
यसैगरी, नेपाल संविधानमा रहेका अधुरा, त्रुटिपूर्ण तथा विभेदकारी प्रावधानहरूको संशोधन, परिमार्जन तथा पुनर्लेखनका लागि संयुक्त आन्दोलन अघि बढाउने सहमति भएको छ।
विभिन्न जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई सम्बोधन गर्दै नेपाललाई राज्य–राष्ट्र (State-Nation) को रूपमा स्थापित गर्न साझा पहल गर्ने उल्लेख गरिएको छ।
मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई मजबुत बनाउँदै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पछाडि पारिएका समुदायको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्ने विषय पनि सम्झौतामा समेटिएको छ।
राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न दुबै पक्षले संयुक्त रूपमा संघर्ष गर्ने सहमति जनाएका छन्।
साथै, हाल कायम कार्यगत एकतालाई संघर्षका कार्यक्रमसँग जोड्दै भविष्यमा आवश्यकताअनुसार एकतामा समेत जान सकिने उल्लेख गरिएको छ।
दुबै पक्षले मधेशको अधिकार, पहिचान र समानताका मुद्दामा साझा मोर्चा बनाएर अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।
