ट्रेन्डिङ

निर्वाचन तयारीमा संघीय समाजवादी पार्टी सक्रिय, बारा जिल्ला कमिटी पुनर्गठन

बारा । फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण अभियानअन्तर्गत नेपाल संघीय समाजवादी पार्टी, बारा जिल्ला कमिटी पुनः गठन गरिएको छ।

कार्यक्रमबाट पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित बारा जिल्लाको जिल्ला कमिटी पुनर्गठन गरिएको हो।

नवगठित जिल्ला कमिटीको अध्यक्षमा नुरुल्ला मिया अन्सारी चयन भएका छन्।

पार्टीले उत्तरदायी, समावेशी र एकाउन्टेबल सदस्यीय कमिटी गठन गरिएको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले आगामी राजनीतिक चुनौती सामना गर्न संगठन सुदृढीकरण अपरिहार्य रहेको बताए।

उनले आउँदो फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई गाउँ–टोलसम्म सक्रिय रूपमा परिचालित हुन निर्देशन दिए।

उनले यही महिनाको पुस २० गते मलंगवामा आयोजना हुने आमसभालाई ऐतिहासिक र सन्देशमूलक बनाउने गरी अधिकतम सहभागिता सुनिश्चित गर्न समेत आग्रह गरे।

विशिष्ट अतिथि बिमला अन्सारीले पार्टी जनताको हक, अधिकार र समावेशी लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिँदै आएको बताइन्।

उनले नेपाल संघीय समाजवादी पार्टी सत्ताका लागि मात्र नभई उत्पीडित र पछाडि पारिएका समुदायको न्याय र अधिकार सुनिश्चित गर्न संघर्षरत रहेको धारणा राखिन्।

उनले संगठनलाई तल्लो तहसम्म मजबुत बनाएर जनताको विश्वास जित्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै पारदर्शी नेतृत्व, जवाफदेही संगठन र जनमुखी राजनीति नै पार्टीको मूल शक्ति भएको बताइन्।

साथै उनले सबै नेता तथा कार्यकर्तालाई अनुशासित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरिन्।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पार्टीको नीति, विचार र संगठन विस्तारलाई पारदर्शी, लोकतान्त्रिक र राष्ट्रिय आवश्यकताअनुकूल ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै