वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार साँझ आगलागीको घटना भएको छ।
अस्पताल परिसरभित्र रहेको ऐश्वर्य प्रसूति गृह भवनको एनआईसीयु (नवजात शिशु सघन उपचार कक्ष) वार्डमा साँझ करिब ४ः३० बजेतिर आगो लागेको हो।
प्रहरीका अनुसार एनआईसीयु वार्डमा जडान गरिएको एसीको विद्युतीय तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबाट कुनै पनि मानवीय क्षति नभएको प्रहरीले स्पष्ट पारेको छ।
अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले आगलागीका कारण एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसी पूर्ण रूपमा जलेर नष्ट भएको जानकारी दिए।
अन्य भौतिक संरचनामा भने क्षति नभएको उनले बताए।
आगो लाग्नेबित्तिकै अस्पतालका कर्मचारीहरूले सतर्कता अपनाउँदै विद्युत् आपूर्ति काटी अस्पतालमै उपलब्ध फायर ग्यास सिलिण्डर प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए।
त्यसपछि वीरगन्ज महानगरपालिकाको दमकल पनि घटनास्थलमा पुगेको भए पनि आगो नियन्त्रणमा आइसकेकाले प्रयोग गर्नु नपरेको डा. चौरसियाले बताए।
आगलागीको समयमा एनआईसीयु वार्डभित्र कुनै पनि नवजात शिशु नभएकाले सम्भावित ठूलो दुर्घटनाबाट जोगिन सफल भएको अस्पताल प्रशासनले जनाएको छ।