जनकपुर। मधेस प्रदेशमा लगातार चिसो बढ्दै जाँदा जनजीवन कष्टकर बन्दै गएको छ।
पछिल्ला पाँच दिनदेखि चिसो ह्वात्तै बढेको छ भने बिहीबारदेखि सुरु भएको चिसो अझ तीव्र बन्दै गएको हो।
विशेषगरी बाक्लो हुस्सु लाग्न थालेपछि दैनिक जनजीवन प्रभावित भएको छ।
पर्सा, बारा लगायत आसपासका जिल्लामा चिसोको प्रभाव बढी देखिएको स्थानीयवासीले बताएका छन्।
चिसोका कारण सर्वसाधारण घरबाहिर निस्कन कठिनाइ महसुस गर्न थालेका छन् भने विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन्।
चिसो र हुस्सुका कारण सवारी आवागमनमा समेत असर परेको छ।
बिहानको समयमा दृश्यता कम हुँदा राजमार्ग तथा ग्रामीण सडकमा सवारी साधनहरू बिस्तारै चलाउनुपर्ने अवस्था देखिएको छ।
यसैबीच चिकित्सकहरूले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
चिकित्सकका अनुसार चिसो मौसममा रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या र उच्च रक्तचापका बिरामीहरूमा स्वास्थ्य जटिलता बढ्न सक्ने जोखिम रहन्छ।
त्यसैले न्यानो कपडा लगाउने, अत्यधिक चिसोमा बाहिर ननिस्कने, तातो खानेकुरा सेवन गर्ने र बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन उनीहरूको सुझाव छ।
मौसम अझ केही दिन चिसो नै रहने अनुमान गरिएको छ।
यसले मधेसका जिल्लामा जनजीवन थप प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय तथा स्थानीय तहले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।